चितवन । डिभिजन वन कार्यालय चितवनले आर्थिक वर्ष २०८२-०८३ मा वन क्षेत्रबाट ३१ करोड ५५ लाख ९१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले वन रोयल्टी, दण्ड–जरिवाना, प्रशासनिक सेवा शुल्क तथा अन्य शीर्षकबाट उक्त राजस्व संकलन गरेको हो।
भरतपुरमा साउन २८ गते सम्पन्न जिल्ला वन क्षेत्र समन्वय समिति बैठकमा आर्थिक वर्ष २०८२-०८३ को वार्षिक प्रगति समीक्षा गर्दै कार्यालयले राजस्व तथा वन संरक्षणका क्षेत्रमा भएको प्रगति सार्वजनिक गरेको हो। कार्यालयका अनुसार कुल राजस्व संकलनमध्ये २७ करोड १ लाख ३ हजार ९२५ रुपैयाँ वन रोयल्टी, दण्ड–सजाय तथा सेवा शुल्कबाट संकलन भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, मूल्य अभिवृद्धि करबापत ४ करोड ५४ लाख ८७ हजार १६७ रुपैयाँ संकलन भएको छ। राजस्वको प्रमुख स्रोत वन क्षेत्रको रोयल्टी रहेको छ। यसबाट मात्रै २६ करोड ५६ लाख ९२ हजार ३९९ रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ।
प्रशासनिक सेवा शुल्कबाट २६ लाख १ हजार ५०० रुपैयाँ, प्रशासनिक दण्ड तथा जरिवानाबाट ५ लाख ९१ हजार ११४ रुपैयाँ, सरकारी सम्पत्ति बिक्रीबाट २ लाख ८४ हजार रुपैयाँ, व्यवसाय दर्ता तथा नवीकरण दस्तुरबाट २ लाख २६ हजार रुपैयाँ र बेरुजु असुलीबाट ५ लाख १४ हजार १९७ रुपैयाँ प्राप्त भएको छ।
११६ वनसम्बन्धी मुद्दा फर्छ्यौट
वन अपराध नियन्त्रण तथा कानुनी कारबाहीतर्फ पनि कार्यालयले उल्लेख्य प्रगति गरेको जनाएको छ। कार्यालयमा हालसम्म १८१ वटा वनसम्बन्धी मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०८२-०८३ मा मात्रै चारवटा नयाँ मुद्दा दर्ता भएका थिए।
कुल दर्ता मुद्दामध्ये ११६ वटा फर्छ्यौट भएका छन्। तीमध्ये गत आर्थिक वर्षमा ३२ वटा मुद्दा फर्छ्यौट गरिएको कार्यालयले जनाएको छ। बाँकी ६५ मुद्दा फर्छ्यौटको अन्तिम चरणमा रहेका छन्। कार्यालयले वन अपराध तथा चोरी–निकासी नियन्त्रणसँगै पुराना मुद्दालाई प्राथमिकताका साथ किनारा लगाउने काम अघि बढाएको जनाएको छ।
२६७ साइकल लिलाम, ठूला सवारी पनि प्रक्रियामा
कार्यालय परिसरमा लामो समयदेखि रहेका बरामद तथा ड्याम्पिङ सवारी साधन व्यवस्थापनतर्फ पनि प्रगति भएको छ। कार्यालयले २६७ थान साइकल लिलाम गरी २ लाख ५२ हजार रुपैयाँ राजस्व दाखिला गरेको छ। त्यस्तै, थप ५९ साइकल, ८१ मोटरसाइकल तथा २५ वटा ठूला सवारी साधन बस, ट्रक र ट्र्याक्टर लिलाम गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ।
चितुवा उद्धारदेखि कृष्णसार स्थानान्तरणसम्म
वन्यजन्तु संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पनि कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। भरतपुर–१५, मङ्गलपुरको मानव बस्तीमा प्रवेश गरेको चितुवालाई सकुशल उद्धार गरिएको कार्यालयले जनाएको छ।
कृष्णसारको बासस्थान व्यवस्थापनअन्तर्गत रत्ननगर–९ स्थित टिकौली क्षेत्रमा १९.८३ हेक्टर क्षेत्रफलमा २९ वटा कृष्णसार स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। बरण्डाभार क्षेत्रमा घाँसे मैदान तथा जैविक तालतलैया निर्माण गरी वन्यजन्तुको बासस्थान सुधार गर्ने कामसमेत भइरहेको छ। मिचाहा प्रजातिका वनस्पति नियन्त्रणतर्फ माइकेनिया लगायतका मिचाहा वनस्पतिको निरन्तर गोडमेल तथा नियन्त्रणको काम भइरहेको कार्यालयले जनाएको छ।
५ हजार ३२९ क्यूबिक फिट पुरानो काठ मूल्याङ्कलन
कार्यालयले लामो समयदेखि रहेका पुराना काठको पुन मूल्याङ्कलन गरी लिलाम बिक्री प्रक्रिया अघि बढाएको छ। कुल ५ हजार ३२९.१९ क्यूबिक फिट पुरानो काठको पुनर्मूल्याङ्कन गरिएको छ। यस क्रममा सालका ४८५ तथा सिसौका ६८५ वटा काठसम्बन्धी सामग्रीको मूल्याङ्कन घटाइएको कार्यालयले जनाएको छ। यसबाट पुराना वन पैदावारको व्यवस्थापनसँगै राजस्व वृद्धि गर्ने लक्ष्य राखिएको छ।
चिउरी–चमेरो मार्गदेखि पर्यटनसम्म
कार्यालयले वन संरक्षणसँगै पर्यटन तथा स्थानीय समुदायको आयआर्जन जोड्ने गरी विभिन्न नयाँ कार्यक्रमसमेत अघि बढाएको छ। इन्द्रेणी सामुदायिक वन क्षेत्रमा १२.६५ किलोमिटर चिउरी–चमेरो मार्ग निर्माणको काम अघि बढाइएको छ।
चेपाङ संस्कृति र पर्यटन विकासलाई जोड दिँदै पर्यापर्यटन प्रवर्द्धनका लागि पञ्चकन्या, चतुर्मुखी तथा भिमवली वन क्षेत्रमा विभिन्न पूर्वाधार विकासका काम अघि बढाइएको छ। इभिनिङ सफारी, होमस्टे तथा भ्यू टावर निर्माणमार्फत वन क्षेत्रलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको कार्यालयले जनाएको छ।
वन डढेलो र अवैध चोरी निकासी मुख्य चुनौती
कार्यालयले मानव–वन्यजन्तु द्वन्द्व, क्षतिपूर्ति तथा राहत वितरणमा हुने ढिलाइ, जोखिमयुक्त रुख हटाउन देखिएका कानुनी तथा व्यावहारिक जटिलता, बरण्डाभार संरक्षण क्षेत्रमा शहरी फोहोरमैला फाल्ने प्रवृत्ति, वन डढेलो तथा वन पैदावारको अवैध चोरी–निकासीलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ।
आगामी दिनमा आबादी क्षेत्रमा रहेका सालका रुखको कटान तथा ओसारपसारलाई सहजीकरण गर्ने, फोहोर व्यवस्थापनका लागि स्थायी र सुरक्षित पूर्वाधार निर्माण गर्ने, विद्यालय तहमा पालिकास्तरीय वातावरण शिक्षा प्रवर्द्धन गर्ने तथा घाँसे मैदान र जैविक तालतलैयाको निरन्तर संरक्षण गर्ने रणनीति कार्यालयले अघि सारेको छ। डिभिजन वन कार्यालय चितवनले वन संरक्षण, वन अपराध नियन्त्रण र राजस्व संकलनसँगै वन्यजन्तु संरक्षण, पर्यापर्यटन तथा स्थानीय समुदायको सहभागितालाई जोड दिँदै आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ।

