काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वनविज्ञान अध्ययन संस्थानको ५४औँ वार्षिकोत्सवका अवसरमा ‘भविष्यका लागि वन व्यवस्थापन: संरक्षण, विकास र मानवीय हितबीच सन्तुलन’ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ।
कीर्तिपुरस्थित आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको क्यामेरा भवनमा सुरु भएको सम्मेलनमा ११ देशका २१ जना अनुसन्धानकर्मी सहभागी छन्। सम्मेलनका क्रममा २५ वटा प्राविधिक सत्र सञ्चालन हुनेछन्, जसमा १०० वटा कार्यपत्र र २४ वटा पोस्टर प्रस्तुति रहनेछन्। तीन जना मुख्य वक्ताले समेत विभिन्न विषयमा प्रस्तुति दिने कार्यक्रम छ।

सम्मेलनमा वन अनुसन्धान, वन तथा वन्यजन्तु संरक्षण, वनको दिगो उपयोग, प्राकृतिक स्रोत संरक्षण तथा वन क्षेत्रमा प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगलगायत समसामयिक विषयमा अनुसन्धान, ज्ञान, अनुभव तथा सूचनाको आदानप्रदान गरिनेछ।
सम्मेलनको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले वनविज्ञान मानव जीवन र प्रकृतिसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको अध्ययन तथा अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए।

वन तथा संरक्षणका क्षेत्रमा आफ्नो विशेष रुचि रहेको उल्लेख गर्दै उनले वन विज्ञानको अनुसन्धान र विकासमा योगदान गर्न सम्बन्धित अनुसन्धानकर्मी तथा विशेषज्ञलाई आग्रह गरे।
वनविज्ञान अध्ययन संस्थानका डिन प्रा. डा. ठाकुर सिलवालले सम्मेलनले वन क्षेत्रका प्राध्यापक, अनुसन्धानकर्मी, विद्यार्थी र उद्यमीबीच सहकार्य तथा समन्वयको वातावरण निर्माण गर्दै नयाँ सम्भावनाको खोजी गर्ने अवसर प्रदान गरेको बताए।विज्ञान तथा प्रविधिमा भइरहेको तीव्र विकाससँगै अनुसन्धानका क्षेत्रमा आएका नयाँ आयामलाई सम्मेलनले प्राथमिकताका साथ समेटेको उनको भनाइ छ।

उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) का डा. यी साओलियाङले ‘पहाडी भू-दृश्यको उत्थानशीलताका लागि चरन क्षेत्र, वन र पशुपालनको एकीकरण’विषयमा कार्यपत्र प्रस्तुत गरे। उनले विश्वका उच्च हिमाली क्षेत्रमा देखिएका पर्यावरणीय परिवर्तन तथा त्यसबाट सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा परेको प्रभावबारे प्रस्तुति दिए।
वनविज्ञान अध्ययन संस्थानको अलुम्नाई कमिटीका अध्यक्ष डा. कृष्णप्रसाद आचार्यले सम्मेलनमा वन क्षेत्रका नीति, संरक्षण र भविष्यमा वन स्रोतको विवेकपूर्ण प्रयोगका विषयमा गहन छलफल हुने बताए।
कार्यक्रममा वनविज्ञान अध्ययन संस्थानका प्रा. डा. राजेशकुमार राईले सम्मेलनको उद्देश्य तथा प्राविधिक पक्षबारे जानकारी दिए। डा. सोनी बरालले स्वागत मन्तव्य र सहायक डिन डा. विक्रम मानन्धरले धन्यवाद ज्ञापन गरे।
वनविज्ञानको अध्ययन, अनुसन्धान, संरक्षण र दिगो उपयोगका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनले वन क्षेत्रको भावी दिशा तय गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

