बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा गाउँबस्ती प्रवेश गरी घरपालुवा जनावरमाथि आक्रमण गर्दै आएको पाटेबाघ नियन्त्रणमा लिइएको छ।
गेरुवा गाउँपालिका–४ शान्तिपुर ढुकुनियास्थित शान्तिपुर मध्यवर्ती सामुदायिक वनबाट मंगलबार दिउँसो करिब ४ बजे बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए।
बाघले निरन्तर घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि साउन १४ गतेदेखि नियन्त्रणमा लिने प्रयास सुरु गरिएको थियो। करिब १९ दिनको निरन्तर प्रयासपछि बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएको उनले बताए।
बाघ नियन्त्रणका क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा स्थानीयवासीबीचको समन्वय र सहयोग महत्वपूर्ण रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले जनाएको छ। नियन्त्रणमा लिइएको पाटेबाघलाई रम्भापुरस्थित वन्यजन्तु उद्धार केन्द्रमा व्यवस्थापन गरिएको तुम्बाहाम्फेले जानकारी दिए।

