ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

रेमिट्यान्स मात्रै होइन, जलवायुका लागि पनि शक्ति हुन् विदेशमा रहेका नेपाली, कसरी ?

रबि किरण अधिकारी ।

काठमाडौं । नेपालमा बाढी, पहिरो, भूकम्प, आगलागी वा अन्य विपद् आउँदा विदेशमा रहेका नेपालीको ध्यान सबैभन्दा पहिले आफ्नै देशतर्फ फर्किन्छ। सामाजिक सञ्जालमा सूचना फैलिन्छ, फोनमार्फत आफन्तको अवस्थाबारे जानकारी लिने क्रम सुरु हुन्छ र प्रभावित परिवारका लागि सहयोग जुटाउन थालिन्छ। कसैले रकम पठाउँछन्, कसैले राहत सामग्री जुटाउँछन् भने कतिपयले विद्यालय, स्वास्थ्य संस्था र स्थानीय समुदायसम्म सहयोग पुर्‍याउँछन्।

तर बदलिँदो जलवायु, बढ्दो विपद् जोखिम र जलवायुजन्य क्षतिको चुनौतीबीच विदेशमा रहेका नेपालीको भूमिका के यतिमै सीमित हुनुपर्छ रु विपद् आएपछि राहतका लागि पैसा पठाउनेभन्दा बाहिर उनीहरूसँग रहेको ज्ञान, सीप, प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध र संस्थागत पहुँचलाई नेपालको जलवायु तथा विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन राष्ट्रिय शक्तिका रूपमा उपयोग गर्न सकिँदैन ?

यही प्रश्नले अब विदेशमा रहेका नेपालीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता देखाएको छ। संसारका विभिन्न मुलुकमा फैलिएको नेपाली समुदायसँग आर्थिक पूँजी मात्र छैन। उनीहरूसँग ज्ञान, सीप, प्रविधि, सामाजिक सम्बन्ध, व्यावसायिक पहुँच र अन्तर्राष्ट्रिय प्रभावसमेत छ। कोही बहुराष्ट्रिय कम्पनीमा महत्वपूर्ण जिम्मेवारीमा छन्, कोही विश्वविद्यालय तथा अनुसन्धान संस्थामा कार्यरत छन् भने कोही स्वास्थ्य, इन्जिनियरिङ, सूचना प्रविधि, वित्त, बीमा, कानुन, सञ्चार र व्यवस्थापनजस्ता क्षेत्रमा स्थापित छन्।

त्यसैले विदेशमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने नागरिक वा विपद्का बेला सहयोग गर्ने दाताका रूपमा बुझ्नु उनीहरूको वास्तविक सम्भावनालाई साँघुरो बनाउनु हो। उनीहरू नेपालका लागि विश्वभर फैलिएको ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धको सञ्जाल बन्न सक्छन्।

राहतबाट उत्थानशीलतातर्फ

विपद्का बेला व्यक्तिगत रूपमा गरिएको सहयोग तत्कालका लागि महत्वपूर्ण हुन्छ। तर त्यही व्यक्तिगत सहयोगलाई संस्थागत स्रोतसँग जोड्न सकियो भने त्यसको प्रभाव अझ ठूलो हुन सक्छ।

विदेशमा कार्यरत नेपालीले आफू कार्यरत कम्पनीमा कर्मचारीले गरेको परोपकारी सहयोगमा कम्पनीबाट समेत थप रकम उपलब्ध हुने व्यवस्था छ कि छैन भनेर खोज्न सक्छन्। कम्पनीका सामाजिक उत्तरदायित्व, वातावरणीय जिम्मेवारी, प्रतिष्ठान तथा दिगोपनसम्बन्धी कार्यक्रममार्फत नेपालका लागि आकस्मिक अनुदान, उद्धार तथा पुनःस्थापनाका उपकरण र प्रविधि जुटाउन सकिन्छ।

त्यसैगरी, व्यक्तिगत सहयोगलाई सहकर्मी, पेशागत सञ्जाल, समुदाय र संस्थासँग जोडेर ठूलो अभियानमा परिणत गर्न सकिन्छ। यसले व्यक्तिगत सद्भावनालाई संस्थागत शक्तिमा रूपान्तरण गर्न सक्छ।

पैसाभन्दा ठूलो योगदान ज्ञान र सीप

विपद्का बेला राहत सामग्री र आर्थिक सहयोगको चर्चा बढी हुन्छ। तर जोखिम न्यूनीकरण, उद्धार, पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक विशेषज्ञता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। विदेशमा रहेका इन्जिनियरले क्षतिग्रस्त संरचनाको प्राविधिक मूल्यांकन र सुरक्षित पुनर्निर्माणमा सहयोग गर्न सक्छन्। भूगर्भविद् तथा भूजोखिम विज्ञले पहिरो, भूकम्प र भूक्षयको जोखिम अध्ययन गर्न सक्छन्। चिकित्सकले स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय स्वास्थ्य सञ्जाल जोड्न सक्छन्।

सूचना प्रविधि तथा तथ्याङ्क विज्ञले आपत्कालीन सञ्चार र सूचना व्यवस्थापन प्रणाली विकासमा सहयोग गर्न सक्छन्। भौगोलिक सूचना प्रणाली, भूउपग्रह तथा दूरसञ्चार प्रविधिमा काम गर्ने विज्ञले जोखिम नक्साङ्कन र क्षतिको मूल्यांकनमा योगदान गर्न सक्छन्।

वित्त, बीमा, कानुन, आपूर्ति व्यवस्थापन, सञ्चार तथा मानवीय सहायतामा कार्यरत नेपालीले पनि आफ्नो विशेषज्ञता नेपालका लागि उपलब्ध गराउन सक्छन्। यसका लागि विदेशमा रहेका नेपाली तथा नेपालसँग सम्बन्धित अन्तर्राष्ट्रिय विशेषज्ञहरूको व्यवस्थित स्वयंसेवी व्यावसायिक सञ्जाल निर्माण गर्न सकिन्छ। यस्तो सञ्जाल भए विपद् आएपछि हतारमा विशेषज्ञ खोज्नुपर्ने अवस्था अन्त्य गर्न सहयोग पुग्न सक्छ।

प्रविधिमा जोडिन सक्छ नेपालको विपद् व्यवस्थापन

बाढीको पूर्वानुमान, भूउपग्रहबाट जोखिमको निगरानी, भौगोलिक सूचना प्रणाली, ड्रोन, कृत्रिम बौद्धिकता, डिजिटल नक्साङ्कन, आपत्कालीन सञ्चार, तथ्याङ्क विश्लेषण र पूर्वसूचना प्रणाली अहिले विपद् व्यवस्थापनका महत्वपूर्ण औजार बनिरहेका छन्।

नेपालले यी सबै प्रविधि शून्यबाट विकास गर्नुपर्ने आवश्यकता छैन। विदेशमा रहेका नेपालीले आफू कार्यरत कम्पनी, विश्वविद्यालय वा अनुसन्धान संस्थालाई नेपालका स्थानीय तह, विश्वविद्यालय, सरकारी निकाय तथा विपद् व्यवस्थापन संस्थासँग जोड्न सक्छन्।

बाढीको पूर्वानुमान, पहिरो जोखिम नक्साङ्कन, हिमतालको जोखिम, जलवायुजन्य जोखिम तथा सुरक्षित पूर्वाधारका क्षेत्रमा संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरण गर्न सकिन्छ। यस्तो सहकार्यले विपद् आएपछि मात्र प्रतिक्रिया दिने परम्परागत शैलीलाई विस्तारै जोखिम पहिचान, पूर्वतयारी र पूर्वसूचनामा आधारित प्रणालीतर्फ लैजान सक्छ।

नेपालको जलवायु आवाज विश्वमञ्चमा

नेपाल जलवायु परिवर्तनको प्रभाव भोगिरहेका मुलुकमध्ये एक भए पनि नेपालको जलवायु आवाज देशभित्र मात्र सीमित राखेर जलवायु न्यायको लक्ष्य हासिल गर्न कठिन हुन्छ।

विदेशमा रहेका नेपालीले आफू बसेको देशका सांसद, स्थानीय जनप्रतिनिधि, नीतिनिर्माता, विश्वविद्यालय, अनुसन्धान संस्था, नागरिक समाज तथा जलवायु अभियानसँग सम्बन्धित संस्थासँग नेपालको अवस्था र आवश्यकताबारे संवाद गर्न सक्छन्।

नेपालको बाढी, पहिरो र अन्य जलवायुजन्य विपद्को तत्कालीन क्षतिका लागि सहयोग माग्नु एउटा पक्ष हो। तर नेपालजस्तो जलवायु परिवर्तनमा न्यून योगदान भएको तर उच्च जोखिममा रहेको मुलुकले यसको मूल्य कसरी चुकाइरहेको छ, अनुकूलनका लागि कस्तो वित्तीय तथा प्राविधिक सहयोग आवश्यक छ र जलवायुजन्य क्षतिको अन्तर्राष्ट्रिय जिम्मेवारी कसरी सम्बोधन हुनुपर्छ भन्ने विषयलाई पनि विश्वमञ्चमा उठाउन आवश्यक छ। नेपालको जलवायु आवाज नेपालभित्र मात्र सीमित राखेर जलवायु न्याय प्राप्त गर्न सकिँदैन।

एउटा सम्पर्कले बदल्न सक्छ अवसर

विदेशमा रहेका नेपालीको सबैभन्दा ठूलो शक्ति उनीहरूको सम्बन्ध र पहुँच पनि हो। कसैको संयुक्त राष्ट्रसंघसँग सम्बन्ध हुन सक्छ, कसैको विकास साझेदारसँग, कसैको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग, कसैको विश्वविद्यालय वा अनुसन्धान प्रतिष्ठानसँग र कसैको निजी क्षेत्रसँग।

यी सम्बन्धलाई व्यक्तिगत परिचयका रूपमा मात्र सीमित नराखी नेपालको प्राथमिकतासँग जोड्न सकिन्छ। कुनै विश्वविद्यालयलाई नेपालमा बाढी तथा पहिरोसम्बन्धी अनुसन्धानमा जोड्न सकिन्छ भने कुनै प्रविधि कम्पनीलाई पूर्वसूचना प्रणाली विकासमा जोड्न सकिन्छ।

त्यस्तै, कुनै प्रतिष्ठानलाई विद्यालय वा स्वास्थ्यचौकी पुनर्निर्माणमा तथा विदेशी शहरका अग्नि नियन्त्रण वा आपत्कालीन सेवासम्बन्धी संस्थालाई नेपाली नगरपालिकासँग अनुभव आदानप्रदानमा जोड्न सकिन्छ। कहिलेकाहीँ एउटा सही सम्पर्कले ठूलो रकमभन्दा पनि महत्वपूर्ण ज्ञान, प्रविधि र अवसर नेपालसम्म ल्याउन सक्छ।

राहतसँगै स्थानीय अर्थतन्त्रको पुनरुत्थान

विपद्को अर्थ राहत वितरणमा मात्र सीमित हुँदैन। प्रभावित समुदायलाई आर्थिक तथा सामाजिक जीवनमा पुनः फर्काउनु अझ महत्वपूर्ण हुन्छ।

बाढी तथा पहिरोबाट प्रभावित किसान, साना उद्यमी, पर्यटन व्यवसायी तथा स्थानीय उत्पादनकर्तालाई बजार, वित्त, प्रविधि र ग्राहकसँग पुनःजोड्न विदेशमा रहेका नेपालीले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

विदेशमा रहेका नेपालीले प्रभावित क्षेत्रका उत्पादन खरिद गर्ने, प्रचार गर्ने र सम्भव भएसम्म अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने हो भने सहयोग चन्दामा मात्र सीमित हुँदैन। यसले स्थानीय अर्थतन्त्र पुनर्जीवित गर्ने आधार तयार गर्न सक्छ। संकटमा राहत चाहिन्छ, तर दीर्घकालीन पुनःस्थापनाका लागि रोजगारी, बजार र आयको पुनःस्थापना चाहिन्छ।

राहत सामग्री होइन, आवश्यकतामा आधारित सहयोग

विदेशबाट नेपाल पठाइने राहत सामग्रीमा पनि अब भावनाभन्दा आवश्यकता र व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

विपद्का बेला आवश्यक नभएका वा स्थानीय रूपमा सहजै उपलब्ध हुने सामग्री ठूलो मात्रामा पठाउँदा ढुवानी, भण्डारण र वितरणमै थप समस्या उत्पन्न हुन सक्छ। त्यसैले ‘हामीसँग के छ रु’ भन्दा ‘नेपाललाई अहिले के चाहिएको छ रु’ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।

सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा विश्वसनीय मानवीय संस्थाले पहिचान गरेका आवश्यकताका आधारमा पानी प्रणाली, सञ्चार उपकरण, स्वास्थ्य सामग्री, उद्धार उपकरण तथा अन्य आवश्यक सामग्री जुटाउनु बढी प्रभावकारी हुन सक्छ।

सूचना पनि राहत हो

विपद्को समयमा सूचना पनि राहतको महत्वपूर्ण रूप हो। विदेशमा रहेका नेपालीले सामाजिक सञ्जालमा आएका हरेक तस्वीर, मृत्युको संख्या वा सहयोगको अपिल तत्काल साझा गर्नुभन्दा पहिले त्यसको सत्यता जाँच गर्न आवश्यक छ।

अपुष्ट सूचना, पुराना तस्वीर, अफवाह तथा भ्रामक सहयोग अभियानले संकटमा रहेका नागरिकलाई थप समस्यामा पार्न सक्छ। त्यसैले आधिकारिक सूचना, प्रमाणित सहयोग माध्यम, आपत्कालीन सम्पर्क र वास्तविक आवश्यकतालाई प्राथमिकताका साथ फैलाउने संस्कार आवश्यक छ।विदेशमा रहेका नेपालीले नेपाल र विश्वभर रहेका नेपालीबीच विश्वसनीय सूचना पुलको भूमिका निर्वाह गर्न सक्छन्।

विपद् आएपछि होइन, आउनुअघि तयारी

सबैभन्दा महत्वपूर्ण कुरा विपद् आएपछि के गर्ने भन्ने होइन, विपद् आउनुअघि के गर्ने भन्ने हो।

नेपालमा विपद् भएपछि ठूलो सक्रियता देखाउने तर विपद् आउनुअघि जोखिम न्यूनीकरण र पूर्वतयारीमा पर्याप्त लगानी नगर्ने प्रवृत्ति अझै देखिन्छ। विदेशमा रहेका नेपालीले यसलाई परिवर्तन गर्न योगदान गर्न सक्छन्।

नेपाली पालिका, विश्वविद्यालय, अग्नि नियन्त्रण सेवा, आपत्कालीन सेवा तथा विपद् व्यवस्थापन संस्थालाई आफू बसेको देशका समान संस्थासँग जोडेर ज्ञान तथा अनुभव आदानप्रदान गराउन सकिन्छ।

भवन निर्माण मापदण्ड, बाढी व्यवस्थापन, आपत्कालीन सञ्चालन केन्द्र, स्थानान्तरण योजना, पूर्वसूचना, आपूर्ति व्यवस्थापन, विपद् बीमा तथा सुरक्षित पूर्वाधारका क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यास नेपालमा अनुकूलित गर्न सकिन्छ।बैंक, बीमा तथा वित्तीय क्षेत्रमा रहेका नेपाली विज्ञले विपद् बीमा, जोखिम कोष तथा आकस्मिक वित्तीय व्यवस्थाजस्ता संयन्त्र विकासमा योगदान गर्न सक्छन्।

दाताबाट जलवायु दूतसम्म

यसका लागि नेपालले पनि विदेशमा रहेका नेपालीसँग सम्बन्ध राख्ने आफ्नो तरिका बदल्नुपर्छ। विपद् आएपछि मात्र सहयोग माग्ने र संकट टरेपछि सम्बन्ध बिर्सने होइन, सामान्य समयमा नै संसारभर रहेका नेपालीको ज्ञान, सीप, प्रविधि, संस्था र सम्पर्कलाई राष्ट्रिय आवश्यकतासँग जोड्ने स्थायी संयन्त्र आवश्यक छ।

यस्तो संयन्त्र पारदर्शी, व्यावसायिक र राष्ट्रिय प्राथमिकतासँग समन्वय भएको हुनुपर्छ। यसको उद्देश्य सरकारी संरचनालाई विस्थापित गर्नु होइन, सरकार, स्थानीय तह र समुदायको क्षमता बढाउनु हुनुपर्छ। विदेशमा रहेका नेपालीले पनि अब आफ्नो भूमिकाबारे सोच्ने तरिका परिवर्तन गर्नुपर्ने समय आएको छ।

‘मैले नेपाललाई कति पैसा पठाउन सक्छु ? भन्ने प्रश्न महत्वपूर्ण छ। तर त्यससँगै ‘मैले नेपाललाई कति ज्ञान, सीप, प्रविधि, सम्बन्ध र अन्तर्राष्ट्रिय समर्थन जोड्न सक्छु ?’ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।

लन्डन, न्युयोर्क, टोरन्टो, सिड्नी, टोकियो, दुबई वा दोहामा बसेको नेपाली नेपालबाट हजारौँ किलोमिटर टाढा हुन सक्छ। तर उसको ज्ञान, सम्बन्ध, संस्था र प्रभाव नेपालबाट एउटा फोन कल मात्र टाढा हुन सक्छ।

यही सम्भावनालाई राष्ट्रिय शक्तिमा रूपान्तरण गर्न सकियो भने विदेशमा रहेका नेपाली केवल रेमिट्यान्स पठाउने समुदाय रहने छैनन्। उनीहरू नेपालको जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण, पुनःस्थापना र उत्थानशील विकासका विश्वव्यापी साझेदार बन्न सक्छन्।

अब विदेशमा रहेका नेपालीलाई केवल दाता होइन, नेपालका जलवायु तथा विपद् दूतका रूपमा हेर्ने समय आएको छ। विपद् आएपछि राहत जुटाउनु आवश्यक छ, विपद्पछि पुनःस्थापना गर्नु अनिवार्य छ। तर दीर्घकालीन लक्ष्य भनेको विपद्को जोखिम घटाउनु, नेपालको जलवायु आवाज विश्वभर पुर्‍याउनु र संसारभर फैलिएको नेपाली ज्ञान, सीप, प्रविधि तथा सम्बन्धलाई नेपालका पक्षमा परिचालन गर्नु हो। आज राहतका लागि हात बढाऔं, भोलि पुनःस्थापनाका लागि साथ दिऔँस तर भविष्यको विपद् कम गर्न आजैदेखि संसारभरबाट नेपालका लागि काम गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top