ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

वन विज्ञानको पाठ्यक्रममा दर्शनशास्त्र : एक परिचर्चा

केशव पराजुली ।

नेपालमा मात्र नभएर विश्वभरका विश्वविद्यालयहरूमा वन विज्ञान विषयको पाठ्यक्रम निर्माण गर्दा प्रायस् प्राविधिक विषयहरूलाई नै केन्द्रविन्दुमा राखेको देखिन्छ।

सिल्भिकल्चर, वन पारिस्थितिकी, वन्यजन्तु व्यवस्थापन, वन स्रोत सर्वेक्षण, जिआईएस र रिमोट सेन्सिङ जस्ता विषयहरूले पाठ्यक्रमको ठूलो हिस्सा ओगट्छन् जुन स्वाभाविक पनि हो, किनकी वन विज्ञान अन्तत : एक प्राविधिक तथा प्रयोगात्मक विषय नै हो।

विश्वभरका वन विज्ञान संकायहरूमा दर्शनशास्त्रलाई सोझै छुट्टै विषयका रूपमा भन्दा पनि वातावरणीय दर्शन, वन नीति तथा आचारसंहिताका रूपमा अध्यापन गराइन्छ।जस्तै युनिभर्सिटी अफ मोन्टाना, अमेरिकाको डव्ल्यू ए फ्राङ्ग कलेज अफ फरेष्ट्री एण्ड कञ्जर्भेसनले वातावरणीय दर्शनशास्त्रलाई आफ्नो पाठ्यक्रमको मुख्य हिस्सा बनाएको छ, जहाँ वन संरक्षणको नैतिक र दार्शनिक पक्ष, इकोलोजीको दर्शन र मानव-प्रकृति सम्बन्धबारे पढाइ हुन्छ।

त्यस्तै ओरेगन स्टेट युनिभर्सिटी अमेरिकाको कलेज अफ फरेष्ट्री अन्तर्गत वन पारिस्थितिकी र समाज विभागले वन व्यवस्थापनका दार्शनिक आयामहरू पढाउँछ, जसमा प्राकृतिक स्रोतको दिगो उपयोगको दार्शनिक आधारलाई दर्शन र विज्ञानसँग जोडेर उच्च अनुसन्धान गराइने गरेको देखिन्छ ।यसैगरी युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया, क्यानडाको वन विज्ञान संकायमा वनको सामाजिक, सांस्कृतिक र दार्शनिक महत्त्वमाथि केन्द्रित पाठ्यक्रमहरू रहेका छन्।

दर्शनशास्त्र अर्थात् फिलोसोफी फिलोस (प्रेम) र सोफिया (ज्ञान) दुईवटा प्राचीन ग्रीक शब्दहरू मिलेर बनेको हुनाले यो विषय आँफै पनि ज्ञान वा विवेकलाई प्रेम गर्न सिकाउने विषय हो भनेर प्रथम दृष्टिमै गोचर हुने हुँदा वन विज्ञानको पाठ्यक्रममा यो विषय कुनै सजावटी वा वैकल्पिक विषय होइन, बरु यो त्यस्तो जगजस्तो विषय हो, जसमाथि बाँकी सम्पूर्ण प्राविधिक ज्ञानको संरचना उभिन्छ ।

आगामी दिनमा वन विज्ञानमा पाठ्यक्रम निर्माताहरूले विशेषतस् स्नातक एवं स्नातकोकत्तर तहको पाठ्यक्रम बनाउने हो भने दर्शनशास्त्रलाई समेत प्राथमिकताको सूचिमा राख्नुपर्ने ठोस कारणहरूको बारेमा यस लेखमा चर्चा गर्ने प्रयास गरिएको छ।
ईसापूर्व छैटौं शताब्दी तिर प्राचीन ग्रीस (यूनान) तथा भारतीय उपमहाद्विपमा सुरुभएको दर्शनशास्त्र संसारकै सबैभन्दा प्राचीन शैक्षिक विधा हो।

प्राचीन कालमा संसारका सम्पूर्ण ज्ञान जस्तैस् भौतिकशास्त्र, गणित, खगोलशास्त्र, जीवविज्ञान, र मनोविज्ञान आदिलाई दर्शनशास्त्रकै अङ्ग मानिन्थ्यो। अरस्तू हुँदै न्यूटनको समयसम्म पनि भौतिक संसारको अध्ययन गर्ने विधालाई विज्ञान नभनेर प्राकृतिक दर्शन (नेचरल फिलोसफी) भनिन्थ्यो ।

सन् १५४३ मा निकोलस कोपरनिकसको खगोलशास्त्रीय सिद्धान्त र सन् १६८७ मा सर आइज्याक न्यूटनको प्रसिद्ध पुस्तक (प्रिन्सिपिया) को प्रकाशनसँगै युरोपमा वैज्ञानिक क्रान्ति सुरु भयो। यहाँबाट वैज्ञानिकहरूले केवल तर्क र चिन्तन (दर्शन) को भर नपरी प्रयोग, प्रमाण, र गणितीय सूत्रका आधारमा सत्यको खोजी गर्न थाले। सन् १८३३ भन्दा अघि वैज्ञानिक (साईन्स)भन्ने शब्द नै थिएन। सन् १८३३ मा बेलायती दार्शनिक र प्राज्ञ विलियम ह्विवेलले पहिलोपटक साईन्स शब्दको प्रयोग गरेपछि मात्र प्रकृति अध्ययन गर्नेहरू प्राकृतिक दार्शनिक बाट वैज्ञानिक का रूपमा चिनिन थालेका हुन् ।यसैले त आज पर्यन्त कुनै विषयमा गहन खोज र अनुसन्धान गरी विद्यावारिधीको उपाधीलाई पनि दर्शनशास्त्रमै जोडेर पीएचडी अर्थात् डक्टर अफ फिलोसोफी भनेर भनिन्छ वा प्रदान गरिन्छ।

वैज्ञानिक अनुसन्धानको आधार भनेकै तार्किक सोच हो, र तार्किक सोचको व्यवस्थित अध्ययन दर्शनशास्त्रले नै गर्छ। वन विज्ञानका विद्यार्थीहरूले भविष्यमा जैविक विविधता, जलवायु परिवर्तन, वन विनाश तथा क्षयीकरण जस्ता जटिल समस्याहरूमा अनुसन्धान गर्नुपर्ने हुन्छ। यस्तो अनुसन्धानमा सफल हुनका लागि सामान्य तथ्याङ्क संकलन गर्ने सीपमात्र पर्याप्त हुँदैन, बरु सही प्रश्न कसरी निर्माण गर्ने, कुन प्रमाण विश्वसनीय हो र कुन होइन भन्ने छुट्याउने क्षमता र तथ्याङ्कबाट सही निष्कर्षमा पुग्ने तार्किक प्रक्रिया बुझ्नु अपरिहार्य हुन्छ। यी सबै क्षमता दर्शनशास्त्रको तर्कशास्त्र (लजिक) र ज्ञानमीमांसा (एपिस्टेमोलोजी) अन्तर्गत सिकाइने विषयवस्तु हुन्।

एउटा विद्यार्थीले यो निष्कर्ष तथ्याङ्कबाट स्वाभाविक रूपमा निस्किएको हो कि मेरो पूर्वाग्रहबाट भन्ने प्रश्न आफैंलाई सोध्न सक्नुपर्छ, र यही आत्मपरीक्षणको बानी दर्शनशास्त्रले विकास गर्छ। दर्शन शास्त्रको अध्ययन वा जानकारी बिना यस्तो तार्किक जगका वन सम्बन्धी अनुसन्धानहरू सतही तथ्याङ्क संकलन र सतही निष्कर्षमा मात्र सीमित रहने खतरा हुन्छ जसले गर्दा गहिरो र भरपर्दो ज्ञान उत्पादनमा योगदान पुग्न सक्दैन।

यसैसँग जोडिएर आउने दोस्रो महत्त्वपूर्ण पक्ष हो अनुसन्धान पद्धतिशास्त्र अर्थात् रिसर्च मेथोडोलोजीको आधारभूत बुझाइ। अनुसन्धानमा उठ्ने आधारभूत प्रश्नहरू, जस्तै के सत्य हो?, यो कुरा सत्य हो भनेर कसरी थाहा पाउनेरु र पर्याप्त प्रमाण भनेको के होरु, यी सबै वास्तवमा दार्शनिक प्रकृतिका प्रश्नहरु हुन्। यी प्रश्नहरूको उत्तर खोज्दै जाँदा नै मानव सभ्यताले वैज्ञानिक पद्धति विकास गरेको हो। जब कुनै विद्यार्थीले वन पारिस्थितिकी प्रणालीको अध्ययन गर्दै आफ्नो अनुसन्धानको डिजाइन बनाउँछ, परिकल्पना (हाइपोथेसिस) निर्माण गर्छ, वस्तुनिष्ठता (अब्जेक्टिभिटी) कायम राख्ने प्रयास गर्छ भने त्यतिबेला ऊ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दार्शनिक परम्पराबाट विकसित सिद्धान्तहरूकै प्रयोग गरिरहेको हुन्छ।

दर्शनशास्त्रको ज्ञानविना रिसर्च मेथोडोलोजी जस्तो विषय पनि केवल यान्त्रिक ढाँचा (फर्म्याट) भर्ने र सोहि फर्म्याटको आधारमा निष्कर्ष निकाल्ने यान्त्रिक अभ्यासमा मात्र सीमित हुन पुग्छ, जसले गर्दा गहिराइमा पुगरे आलोचनात्मक विश्लेषण क्षमता विकास हुन सक्दैन ।

वन विज्ञानमा दर्शनशास्त्र आकर्षित हुने अर्को महत्वपूर्ण पक्ष हो वन संरक्षण एवं व्यवस्थापनसँग जोडिएको नैतिकता र मूल्य प्रणाली। वन भनेको केवल काठ, दाउरा वा व्यावसायिक कच्चा पदार्थको स्रोत मात्र होइन वरु यो त जैविक विविधता, वन्यजन्तु, स्थानीय समुदायको जीविकोपार्जन र अनेकौं वातावरणीय फाइदा प्रदान गर्ने भावी पुस्ताको हक अधिकारसँग गाँसिएको साझा प्राकृतिक सम्पदा पनि हो। यो चेतना यान्त्रिक रूपमा प्राविधिक विषयले मात्र दिन सक्दैन, यसका लागि गहिरो नैतिक चिन्तन आवश्यक पर्छ।

दर्शनशास्त्रले नै मानव र प्रकृतिबीचको सम्बन्ध, वातावरणीय नैतिकता (एनभायरनमेन्टल एथिक्स), न्याय, र अन्तरपुस्तीय जिम्मेवारीरअन्तरपुस्ता समन्याय (इन्टरजेनेरेसनल रेस्पोन्सिबिलिटीरईक्यूटी) जस्ता अवधारणाहरू व्यवस्थित रूपमा बुझाउँछ। एक वन अधिकृत वा वैज्ञानिकले निर्णय लिँदा केवल आर्थिक लाभ वा उत्पादकत्वको हिसाबले मात्र सोच्ने हो भने त्यसले दीर्घकालमा वन पारिस्थितिकी प्रणाली र त्यसमा निर्भर वन्यजन्तु एवं मानव समुदायलाई क्षति पुर्‍याउन सक्छ। तर यदि निजले वैज्ञानिक प्रमाण र नैतिक दृष्टिकोण दुवैतिरबाट पनि सोच्न सक्ने हो भने निर्णयहरू बढी सन्तुलित, दिगो र न्यायसंगत हुन्छन्।

यसैगरी दार्शनिक पक्षमा सन्निहीत नैतिक चेतनाको व्यावहारिक प्रयोग हेर्ने हो भने यो निर्णय प्रक्रिया र द्वन्द्व व्यवस्थापनको क्रममा झल्कन पुग्दछ। नेपालको सन्दर्भमा वन क्षेत्रमा धेरै किसिमका द्वन्द्वहरू सधैं देखिने गरेका छन्। संरक्षण र विकासबीचको द्वन्द्व, सामुदायिक अधिकार र सरकारी नीतिबीचको तनाव, काठ उत्पादन र जैविक विविधता संरक्षणबीचको प्रतिस्पर्धारविवाद, आदी जस्ता सबै अवस्थामा केवल प्राविधिक ज्ञान मात्र पर्याप्त हुँदैन।

यी समस्याहरू प्राविधिक भन्दा बढी मूल्यगत (भ्यालु-बेस्ड) समस्या हुन्। कसको हक बढी महत्त्वपूर्ण हो? कुन विकल्पले बढी न्याय दिन्छरु अल्पकालीन आर्थिक लाभ र दीर्घकालीन पारिस्थितिकीय स्वास्थ्यबीच कसरी सन्तुलन मिलाउने ? कुन निर्णयबाट कसले के फाइदा कति मात्रामा पाउँछ ? विकास र वातावरण बीचको सन्तुलन किन र कसरी ? यी र यस्ता प्रश्नहरूको उत्तर दिनका लागि मूल्य, न्याय, र जिम्मेवारीको दार्शनिक विश्लेषण चाहिन्छ। दर्शनशास्त्रले विद्यार्थीहरुलाई यस्ता जटिल र बहुआयामिक निर्णयहरू लिने मानसिक तयारी र विश्लेषणात्मक औजार प्रदान गर्छ, जुन कुनै पनि प्राविधिक विषय एक्लैले दिन सक्दैन।

पेशाको तनावपूर्ण प्रकृति र त्यसलाई सामना गर्ने मानसिक क्षमताको विकासमा दर्शन शास्त्रले व्यावहारिक दृष्टिकोण प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । फरेस्ट्री पेशा कार्यालयको सुविधाजनक कोठाभित्र मात्र सीमित रहँदैन। यसमा दुर्गम भूगोलमा कठिन शारिरीक श्रम सहितको फिल्ड कार्य गर्नुपर्ने बाध्यता हुन्छ । फिल्डमा प्राकृतिक जोखिम हुन्छ, स्थानीय समुदायसँगको मानवीय द्वन्द्व हुन्छ, र प्रशासनिक तथा राजनीतिक दबाब पनि हुन्छ।

यस्तो चुनौतीपूर्ण पेशागत जीवनमा दिगो रूपमा टिकिरहन र नैतिक रूपमा सही निर्णय लिन आत्मचेतना (सेल्फ-अवेयरनेस) , मानसिक सहनशीलता (रेजिलियन्स), आफ्नो काम प्रति अर्थपूर्णताको बोध र भावनात्मक अनुशासन आवश्यक पर्छ। दर्शनशास्त्रको स्टोइक चिन्तन परम्परा (प्राचीन ग्रीक-रोमन दर्शन जसले सुख र दुःखमा समभाव राख्दै आत्म- नियन्त्रण र विवेकमा जोड दिन्छ) देखि लिएर अस्तित्ववादी (एक्जिस्टेन्शियलिस्ट) चिन्तन (मानिसको अस्तित्व उसको पहिचान भन्दा पहिले आउँछ र आफ्नो जीवनको अर्थ, मूल्य तथा गन्तव्य आफैं निर्माण गर्नुपर्छ) सम्मका विभिन्न परम्पराहरूले यी विषयमा हजारौं वर्षदेखि गहिरो चिन्तन गर्दै आएका छन्।

यसै गरि पूर्वीय चिन्तन परम्परामा भगवान् श्रीकृष्णले श्रीमद्भागवत गीता र श्रीमद्भगवद्गीता मार्फत मानिसलाई नतिजा वा फलको आशा नगरी आफ्नो कर्तव्य वा कर्म निष्काम भावले पूरा गर्न प्रेरित गरेको देखिन्छ।यस्ता दार्शनीक चिन्तनको आधारभूत परिचयले वन पेशाकर्मीलाई मानसिक रुपले वलियो वनाउन र पेशागत नैतिकता सुदृढगर्दै कर्तव्यपथमा दृढतापूर्वक अगाडि वढ्न प्रत्यक्ष सहयोग पुर्‍याउँछ।पेशागत निष्ठा, आत्म संयम र कर्तव्यको गहन वोध नभएसम्म केवल प्राविधिक ज्ञानले मात्र आशातित प्रतिफल दिन नसक्ने भएकोले दर्शन शास्त्र र यसका विविध पक्ष मूलत: नैतिकता, आत्मवोध र मानवीय पक्षको गहन ज्ञान वन विज्ञानको क्षेत्रमा पनि अर्थपूर्ण हुन पुग्दछ ।

यहाँ एउटा स्वाभाविक प्रश्न उठ्न सक्छ, के दर्शनशास्त्र जस्तो अमूर्त लाग्ने विषयलाई यति धेरै महत्त्व दिनु व्यावहारिक हो त? दर्शनशास्त्र वास्तवमा जति सुनिँदा अमूर्त लाग्छ त्यति अव्यावहारिक होइन। बरु यो सबैभन्दा व्यावहारिक विषय हो किनभने यसले अन्य सबै विषयको प्रयोग कसरी गर्ने भन्ने बुझाउँछ। एउटा उदाहरणले यसलाई स्पष्ट पार्न सकिन्छ, एक इन्जिनियरले पुल बनाउन सक्छ, तर पुल कहाँ बनाउने, कसका लागि बनाउने, र त्यसले कसलाई फाइदा वा बेफाइदा पुर्‍याउँछ भन्ने निर्णय प्राविधिक ज्ञानले मात्र दिन सक्दैन। त्यसैगरी वन प्राविधकरवैज्ञानिकले वृक्षारोपण गर्ने प्राविधिक विधि जान्न सक्छ, तर कुन प्रजाति कहाँ र किन रोप्ने, कसको जमिनमा रोप्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने निर्णयमा वैज्ञानिक ज्ञानका अतिरिक्त नैतिक र तार्किक विवेक चाहिन्छ, जुन ठ्याक्कै दर्शनशास्त्रले दिने कुरा हो।

अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने पनि विश्वका प्रतिष्ठित वन विज्ञान तथा वातावरण विज्ञान कार्यक्रमहरूले वातावरणीय नैतिकता र दर्शनशास्त्रलाई पाठ्यक्रमको अनिवार्य अंशका रूपमा राख्दै आएका छन्। यसको कारण स्पष्ट छ कि प्रकृतिसँग जोडिएको जुनसुकै वैज्ञानिक विधाहरुले अन्तत : मानव मूल्य र नैतिकतासँग जुध्नु नै पर्छ। नेपाल जस्तो देश जहाँ वन र वनमा आधारित समुदायको सम्बन्ध अत्यन्त गहिरो र संवेदनशील छ, त्यहाँ त झन् यो आवश्यकता बढी नै हुन्छ। हाम्रा वनहरू केवल राष्ट्रिय सम्पत्ति मात्र होइनन्, तिनीहरू लाखौं समुदायको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका छन्। यस्तो संवेदनशील क्षेत्रमा काम गर्ने भावी पुस्ताका वन प्राविधकहरूलाई नैतिक र दार्शनिक चेतना नदिई प्राविधिक ज्ञानमात्र दिने हो भने, त्यो शिक्षा अधुरो र कहिलेकाहीं जोखिमपूर्ण समेत हुन सक्छ।

यसैले पाठ्यक्रम निर्माताहरूले दर्शनशास्त्रलाई विद्यार्थीहरुको समग्र बौद्धिक र नैतिक विकासमा एउटा आधारशीला हो भन्ने मानी कम्तिमा पनि आधा सेमेस्टर शुद्ध सैद्धान्तिक दर्शनशास्त्र होइन कि वन विज्ञानसँग सान्दर्भिक हुने पक्षहरु जस्तै वातावरणीय नैतिकता, अनुसन्धान तर्कशास्त्र, र व्यावसायिक नैतिकताको बारेमा प्रयोगात्मक दर्शनशास्त्र (एप्लाइड फिलोसोफी) को रूपमा अध्यापन गराईने गरी पाठ्यक्रम निर्माण गर्न सान्दर्भिक हुने देखिन्छ ।

2 thoughts on “वन विज्ञानको पाठ्यक्रममा दर्शनशास्त्र : एक परिचर्चा

  1. ईपिस्टोमोलोजी पनि अलि बिस्तृत र गहिरोसँग व्याख्या गरेको भए हुन्तो/

    अन्टोलोजी र एक्जियोलोजी पनि छोएको भए अति उत्तम/

    राम्रो प्रयास – लागे रहो मुन्ना भाई

  2. यो छुट्टै बिषयको समय सान्दर्भिक लेख पढेर एकछिन त मथिङ्गल नै हल्लियो।
    क्या सान्दर्भिक लेख 😱 अध्ययनशील व्यक्तित्वको लेख नै फरक।✅💐

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top