रसुवा ।डढेलोका कारण लामो समयदेखि उजाड बनेको रसुवाको गतलाङ क्षेत्रको वन पुनः हराभरा बनाउने उद्देश्यले पहिलोपटक ड्रोन प्रविधिमार्फत स्थानीय वनस्पति तथा घाँसका बीउ छर्न यहि साउन ११ देखि १४ गते सम्म छर्ने काम गरिएको छ ।
आमाछोदिङ्मो गाउँपालिका–३, गतलाङस्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्ने कार्य गरिएको हो। भिरालो, दुर्गम तथा कठिन भूगोलका कारण परम्परागत विधिबाट बीउ तथा बिरुवा रोप्न चुनौतीपूर्ण रहेको अवस्थामा ड्रोन प्रविधिलाई वन पुनर्स्थापनाको वैकल्पिक उपायका रूपमा प्रयोग गरिएको हो।

विसं २०६५ मा भएको भीषण डढेलोले गतलाङ क्षेत्रका वनमा रहेका सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति नष्ट गरेको थियो। डढेलोबाट प्रभावित करिब ४५५ हेक्टर वन क्षेत्रमध्ये पहिलो चरणमा करिव ६० हेक्टरमा २३० के.जी. स्थानीय धुपि र खर्कमा घासका बीउ छरिएको छ।
ड्रोन प्रयोग गरी गतलाङको वन पुनर्स्थापनाका लागि वन विज्ञान अध्ययन संस्थान, डिभिजन वन कार्यालय रसुवा, वन तथा भूसंरक्षण विभाग, रेड कार्यान्वयन केन्द्र र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र बीच सहकार्य गरिएको हो।
यसअघि पनि वन पुनर्स्थापनाअन्तर्गत ३० हजारभन्दा बढी सल्लाका बिरुवा रोपिएको जनाइएको छ।
ड्रोनमार्फत बीउ छर्ने प्रविधिले मानिस र सामग्री पुर्याउन कठिन भिरालो तथा दुर्गम क्षेत्रमा कम समयमा ठूलो क्षेत्र समेट्न सक्ने भएकाले वन पुनर्स्थापनामा नयाँ सम्भावना देखाएको छ।
नेपालका कठिन भूभागमा ड्रोनबाट बीउ छर्ने प्रविधिको प्रयोग यसअघि खोटाङ र ओखलढुंगाका क्षतिग्रस्त क्षेत्रमा पनि परीक्षण गरिएको थियो। त्यहाँ स्थानीय भूगोलअनुकूल बीउ, मल तथा अन्य पोषक पदार्थ समावेश गरिएका सीड बल प्रयोग गरी हवाई बीउ छर्ने प्रविधि परीक्षण गरिएको थियो।उच्च पहाडी भूभागमा ड्रोनबाट बीउ छर्ने कार्य यो पहिलो रहेको जनाइएको छ ।

यसबाट दूर्गम स्थानमा वन पूनर्स्थापना गर्न सहज हुने अपेक्षा राखिएको डिभिजन वन कार्याल, रसुवाका प्रमुख शम्भु तामांङले जानकारी दिए ।गतलाङमा सुरु गरिएको यो अभियानले प्रविधि, स्थानीय ज्ञान र सामुदायिक वन व्यवस्थापनलाई जोड्दै डढेलोबाट क्षतिग्रस्त वनको पुनर्स्थापनामा नयाँ बाटो खोल्ने अपेक्षा गरिएको त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्रा.डा. राजेश कुमार राईले बताए ।

राईका अनुसार बीउको अंकुरण तथा बिरुवाको जीवित रहने दर, प्रजाति अनुकूलता, माटो तथा मौसमको अवस्था र दीर्घकालीन संरक्षणका आधारमा यसको प्रभावकारिता मूल्याङ्कन गर्न नियमित अनुगमन आवश्यक हुनेछ।उच्च हिमाली क्षेत्रमा ड्रोन प्रविधि प्रयोग गर्दा आउने कठिनाईहरूको राम्रो अनुभव भएको र यसबाट भविष्यमा प्रविधिलाई अवस्था अनुसार ढाल्दै लैजाने राम्रो सिकाई भएको उनले बताए ।

