ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

बाँदर–बँदेलबाट कृषि बालीमा बढ्दो क्षति कार्ययोजना बनाउन संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, आठ बुँदे कार्ययोजनाको माग

काठमाडौं । बाँदर र जंगली बँदेलबाट कृषि बालीमा भइरहेको क्षति गम्भीर बन्दै गएपछि प्रतिनिधिसभामा यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन मागसहित जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको प्रस्तावमा नेकपा एमालेकी सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई समर्थक छन् । सोमबार दर्ता गरिएको प्रस्तावमा बाँदर र बँदेलको समस्या मानव–वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरही किसानको उत्पादन, आम्दानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ७१ बमोजिम दर्ता गरिएको प्रस्तावमा समयसीमा, बजेट तथा संघ, प्रदेश र स्थानीय तहको स्पष्ट जिम्मेवारीसहित राष्ट्रिय कार्ययोजना बनाउन माग गरिएको छ ।

प्रस्तावमा राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्राणीशास्त्र विभागको प्राविधिक सहयोगमा गरिएको अध्ययनलाई आधार बनाइएको छ । अध्ययनअनुसार अत्यधिक प्रभावित ४४ स्थानीय तहमा २० हजार ३९५ वटा रातो बाँदर प्रत्यक्ष गणना गरिएको छ भने मध्यपहाडी क्षेत्रमा न्यूनतम १ लाख ४ हजार १३७ बाँदर रहेको अनुमान गरिएको छ । औसत बाँदर समूहमा ४२ दशमलव ६६ वटा बाँदर रहेको र कतिपय समूहमा १९८ वटासम्म भेटिएको अध्ययनमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागी १ हजार ८४६ घरधुरीमध्ये ९८ प्रतिशतले बाँदरलाई प्रमुख समस्याका रूपमा उल्लेख गरेका छन् । बाँदरबाट मात्रै ती घरधुरीमा वार्षिक करिब ५ करोड रुपैयाँ बराबरको बाली क्षति हुने गरेको प्रस्तावमा उल्लेख छ । मकैमा प्रतिघरधुरी औसत ३१२ किलो अर्थात् उत्पादनको ५० दशमलव ३ प्रतिशतसम्म क्षति भएको पाइएको छ । धान, गहुँ, कोदो, आलु, तोरी, सुन्तला र अलैंचीमा समेत १८ देखि ५२ प्रतिशतसम्म क्षति हुने गरेको जनाइएको छ ।

प्रदेशगत रूपमा पनि समस्या गम्भीर रहेको प्रस्तावमा उल्लेख छ । गण्डकीमा मकैको सापेक्ष क्षति ९० प्रतिशत, कर्णालीमा ८८ प्रतिशत तथा सुदूरपश्चिममा धानमा ८५ र गहुँमा ९० प्रतिशतसम्म क्षति पुगेको जनाइएको छ । पाक्न लागेको बाली जोगाउन किसानले खेतबारीमै कटेरो बनाएर दिनभर बस्नुपर्ने अवस्था रहेको तथा कुकुर, रेडियो र आवाज निकाल्ने उपकरणजस्ता परम्परागत उपायसमेत प्रभावहीन बन्दै गएको प्रस्तावमा उल्लेख छ ।

प्रस्तावक केरुङले बाँदरको समस्या पहाडी क्षेत्रमा खेती छाड्ने र बसाइँसराइ बढाउने कारणसमेत बन्न थालेको बताएका छन् । उनका अनुसार कृषि उत्पादन र उत्पादकत्वमा परेको असरले ग्रामीण अर्थतन्त्रसँगै समग्र खाद्य सुरक्षामा जोखिम बढाएको छ ।

डेढ वर्षपछि पनि उस्तै समस्या

प्रतिनिधिसभामा १२ फागुन २०८१ मा पनि बाँदर र बँदेलबाट किसानले भोगिरहेको समस्या तथा दीर्घकालीन समाधानबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भएको थियो । त्यसपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई तत्कालीन तथा दीर्घकालीन उपाय खोज्न र आवश्यक बजेट व्यवस्थापन गर्न निर्देशनसमेत दिएको थियो ।

तर डेढ वर्षपछि पनि किसानले खेतबारीमै बसेर बाली जोगाउनुपर्ने अवस्था कायम रहेको प्रस्तावमा जनाइएको छ । सरकारले रातो बाँदर र जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरे पनि कानुनी घोषणा मात्र पर्याप्त नभएको प्रस्तावकहरूको निष्कर्ष छ ।

विद्यमान वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० अनुसार बाली क्षतिको मूल्याङ्कनका आधारमा बढीमा १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था छ । तर उत्पादनको आधाभन्दा बढी क्षति हुने अवस्थामा राहत रकम र क्षति मूल्याङ्कनको प्रक्रिया वास्तविक नोक्सानीअनुकूल बनाउनुपर्ने माग गरिएको छ ।

आठ बुँदे कार्ययोजनाको माग

प्रस्तावमा सरकारले तत्काल आठवटा काम अघि बढाउनुपर्ने माग गरिएको छ । उपलब्ध वैज्ञानिक अध्ययन र सरकारी कार्यदलका सुझावका आधारमा ३० दिनभित्र समयसीमा, बजेट र तीन तहका सरकारको जिम्मेवारीसहित एकीकृत राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्न माग गरिएको छ ।

त्यस्तै, बाली क्षति, किसानको उजुरी तथा वन्यजन्तुको संख्या र आवागमनका आधारमा उच्च जोखिम क्षेत्रको राष्ट्रिय द्वन्द्व नक्साङ्कन गर्न, प्रभावित किसानलाई प्रभावकारी घेराबार, सुरक्षित अवरोध तथा गैरघातक नियन्त्रण प्रविधि उपलब्ध गराउन र अत्यधिक प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली गठन गर्न प्रस्तावमा माग गरिएको छ ।

उच्च द्वन्द्व भएका क्षेत्रमा वैज्ञानिक अध्ययन र अनुगमनसहित वन्यजन्तुको संख्या व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न, बाली क्षतिको राहत वास्तविक उत्पादन लागत, क्षेत्रफल, क्षतिको मात्रा र स्थानीय बजार मूल्यका आधारमा पुनरावलोकन गर्न पनि माग गरिएको छ ।

अत्यधिक प्रभावित क्षेत्रमा वन्यजन्तुले कम क्षति गर्ने वैकल्पिक उच्च मूल्यका बाली प्रवर्द्धन, वनभित्र प्राकृतिक आहारा, पानी तथा वासस्थान सुधार, किसान–सामुदायिक वन–वन कार्यालय–स्थानीय तहबीच संयुक्त संयन्त्र र द्रुत कोष स्थापना गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

यसैगरी सरकारले २०८१ फागुनको संसदीय छलफलपछि गरेका निर्णय, अध्ययन, खर्च र उपलब्धिको विवरण सदनमा प्रस्तुत गर्न तथा राष्ट्रिय कार्ययोजनाको प्रगति प्रत्येक तीन महिनामा सम्बन्धित संसदीय समितिमा पेस गर्न माग गरिएको छ ।

प्रस्तावमा बाँदर र बँदेलबाट भइरहेको क्षतिलाई कुनै गाउँ वा स्थानीय तहको मात्र समस्या नभई राष्ट्रिय सामाजिक, आर्थिक र खाद्य सुरक्षासँग जोडिएको विषयका रूपमा लिएर तत्काल कार्यान्वयनयोग्य नीति बनाउन सरकारसँग माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top