हेटौंडा । डिभिजन वन कार्यालय राप्ती मनहरीअन्तर्गत रहेका २०६ वटा सामुदायिक वन उपभोक्ता समूहमध्ये मनहरी गाउँपालिका–७ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट घोषित भएको छ ।
सामुदायिक वन दिवसको अवसरमा राप्ती डिभिजन वन कार्यालय र मकवानपुर डिभिजन वन कार्यालयले संयुक्त रूपमा बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरेको कार्यक्रममा मनकामना सामुदायिक वनलाई प्रथम घोषणा गर्दै १६ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
गत आर्थिक वर्ष २०८२-८३ को विनियोजित बजेटअनुसारको कार्यसम्पादन, जनसहभागिता, चुस्त प्रशासन, वन कार्यालयसँगको समन्वयलगायतका सूचकका आधारमा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह छनोट गरी पुरस्कृत गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेमबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयन तथा समूहको समग्र कार्यसम्पादनका आधारमा उपभोक्ता समूहलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गरिएको हो । डिभिजन वन कार्यालयले हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने सामुदायिक वन उपभोक्ता समूहलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गर्दै आएको छ ।
मनकामना सामुदायिक वनका अध्यक्ष सुरेश मुक्तान, उपाध्यक्ष बालकृष्ण मुक्तान, सचिव इन्द्रकुमारी मुक्तानलगायतको टोलीले पुरस्कार ग्रहण गरेको थियो । वन निर्देशनालयका निर्देशक विद्यानाथ झा र डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेमबहादुर थापालगायतले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा राक्सिराङ गाउँपालिका–८ स्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूह द्वितीय हुँदै १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै थाहा नगरपालिका–२ स्थित हिमचुली सामुदायिक वन उपभोक्ता समूह तृतीय हुँदै ७ हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
यसैगरी कबुलियती वनतर्फ हेटौँडा उपमहानगरपालिका–१९ स्थित क्याम्पाडाँडा (क) कबुलियती वन प्रथम भएको छ । प्रथम समूहले १६ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ । इन्द्रसरोवर गाउँपालिका–१ स्थित वनबासपाखा कबुलियती वन द्वितीय र भीमफेदी गाउँपालिका–४ स्थित चण्डीदेवी कबुलियती वन तृतीय भएका छन् । उनीहरूले क्रमशः १० हजार र ७ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
डिभिजन वन कार्यालय राप्ती मनहरीको कार्यक्षेत्रभित्र २६३ वटा कबुलियती वन रहेका छन् । आर्थिक वर्ष २०८२-८३ मा उत्कृष्ट कर्मचारीका रूपमा वन अधिकृत वीरबहादुर बोम्जन घोषित भई पुरस्कृत भएका छन् ।

