काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले हिमाली क्षेत्र र जलवायु परिवर्तनबाट उत्पन्न प्रभावलाई अन्तर्राष्ट्रिय प्राथमिकताको विषय बनाउन नेपालले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विकसित मुलुकहरूले हिमालसम्बन्धी विषयलाई अझै पर्याप्त प्राथमिकता नदिएको भन्दै नेपालले अन्तर्राष्ट्रिय तहमा निरन्तर पैरवी र दबाब बढाउनुपर्ने बताए।
उनले हिमाल र जलवायु परिवर्तनको मुद्दालाई राजनीतिक तथा आर्थिक क्षेत्रसँगै नागरिक समाज र संसदीय संयन्त्रमार्फत अन्तर्राष्ट्रिय बहसमा स्थापित गर्नुपर्नेमा जोड दिए। नेपालले पहल कमजोर बनाए विगतका उपलब्धि प्रभावित हुनसक्ने उनको चेतावनी थियो।
ढकालले सगरमाथासँग जोडिएको नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा उपयोग गर्दै हिमाली एजेन्डाको अगुवाइ गर्नुपर्ने बताए। साथै, हिमाल संरक्षण र जलवायुजन्य जोखिम न्यूनीकरणका लागि राष्ट्रिय लगानी बढाउँदै राष्ट्रिय जलवायु नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे।

