पर्सा । पर्सामा गैंडा नियन्त्रणमा लिने क्रममा वन कार्यालयका रेञ्जर घाइते भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडा धपाउने क्रममा सव डिभिजन वन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख रेञ्जर यमबहादुर बस्नेत घाइते भएका छन्।
पर्साको जगरनाथपुर गाउँपालिका–पाडेपुरस्थित धानखेतमा प्रवेश गरेको गैँडालाई सुरक्षित रूपमा जंगलतर्फ धपाउने क्रममा गैंडाले बस्नेतमाथि आक्रमण गरेको हो। आक्रमणबाट उनको बायाँ खुट्टामा चोट तथा घाउ लागेको जनाइएको छ।
घाइते बस्नेतलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको छ। गैंडा बस्ती तथा खेतीयोग्य क्षेत्रमा प्रवेश गरेपछि स्थानीयवासीमा त्रास बढेको छ।

घटनापछि डिभिजन वन कार्यालय तथा सम्बन्धित निकायले गैंडाको गतिविधिमाथि निगरानी बढाएका छन्। गैंडालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर निकुञ्ज क्षेत्रमा फर्काउने प्रयास भइरहेको वन कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले गैंडा देखिएमा नजिक नजान, जिस्क्याउने वा आफैं धपाउने प्रयास नगर्न तथा सुरक्षित दूरी कायम गर्न अनुरोध गरेका छन्।
प्रमुख अहमदले गैंडा बस्ती वा खेतबारीमा देखिए तत्काल वन कार्यालय वा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गर्दै भीड जम्मा भएर गैँडालाई घेराबन्दी गर्ने, ढुंगा हान्ने वा लखेट्ने प्रयास नगर्न समेत अनुरोध गरेका छन्।
वन कार्यालयका अनुसार गैंडाको गतिविधिमाथि निरन्तर निगरानी राखिएको छ। वन कर्मचारी तथा सम्बन्धित निकायको टोलीले गैंडालाई सुरक्षित रूपमा निकुञ्ज क्षेत्रमा फर्काउने प्रयास गरिरहेको छ

