महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले विशेष सूचनाका आधारमा जिल्लाको सोनमा गाउँपालिका–५, खैरबानीबाट सिमल जातका ८ थान गोलिया काठ बरामद गरेको छ।
२०८३ भदौ २१ गते प्राप्त विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय महोत्तरीका कर्मचारीले खैरबानी प्रहरी कार्यालयको सहयोगमा संयुक्त रूपमा खोजतलास गरेका थिए। सो क्रममा आँपको रुखमुनि लुकाइराखिएको अवस्थामा एक थान ट्रेलरमा लोड गरिएको सिमल जातका ८ थान गोलिया काठ बरामद गरिएको हो।
बरामद काठ आवश्यक कानुनी प्रक्रियाका लागि डिभिजन वन कार्यालय महोत्तरीको नियन्त्रणमा राखिएको छ। काठ कहाँबाट ल्याइएको हो र त्यसमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ। वन पैदावारको अवैध ओसारपसार तथा चोरी–तस्करी नियन्त्रणका लागि वन कार्यालयले विशेष सूचनाका आधारमा निगरानी तथा खोजतलासलाई तीव्र बनाएको जनाएको छ।
उक्त काठ बरामद गर्ने अभियानमा सक्रियता देखाएको भन्दै डिभिजनल वन अधिकृत सन्तोष जिसी, रेन्जर सुमन श्रेष्ठ लगायत वन कर्मचारी तथा खैरबानी प्रहरीलाई धन्यवाद व्यक्त गरिएको छ।

