सुर्खेत । सुर्खेतको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको काँक्रेविहार वन संरक्षण क्षेत्रको दिगो संरक्षण, व्यवस्थापन तथा पर्यटन प्रवर्धनका लागि १० वर्षे विशेष कार्ययोजना स्वीकृत गरिएको छ। वन तथा भू संरक्षण विभागले शुक्रबार सार्वजनिक गरेको विशेष कार्ययोजना अघिसारेको हो ।
नेपाल सरकारको वन ऐन, २०७६ तथा वन नियमावली, २०७९ को प्रावधानअनुसार आ.व. २०८३-०८४ देखि २०९२-०९३ सम्म कार्यान्वयन हुने गरी विशेष कार्ययोजना तयार गरिएको हो।
विशेष कार्ययोजना कार्यान्वयनका लागि १० वर्षमा कूल ४ करोड १८ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। योजनाको कार्यान्वयन डिभिजन वन कार्यालय सुर्खेतले कार्यान्वयन इकाईमार्फत गर्नेछ भने अनुगमन कर्णाली प्रदेश वन निर्देशनालय र वन तथा भू–संरक्षण विभागले गर्ने व्यवस्था गरिएको छ।
वीरेन्द्रनगर नगरपालिका–९ र १० मा पर्ने काँक्रेविहार वन संरक्षण क्षेत्र १७५.५० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रको प्राकृतिक स्रोतमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ७ हजार ४५२ घरधुरीका २९ हजार ७६९ जना निर्भर रहेको कार्ययोजनामा उल्लेख छ।
काँक्रेविहारको वनमा मुख्य रूपमा पहाडी सालको वन रहेको छ। वन संरचनामा पहाडी सालको हिस्सा ७७.४९ प्रतिशत रहेको छ भने सल्ला तथा चौडापाते मिश्रित वनसमेत पाइन्छ। यहाँ ५६ प्रजातिका रुख, २१ प्रजातिका जडीबुटी, २५ प्रजातिका स्तनधारी तथा ४१ प्रजातिका चराचुरुङ्गी रहेको उल्लेख गरिएको छ।
२०८१ मा गरिएको फिल्ड सर्वेक्षणअनुसार काँक्रेविहार वनमा प्रतिहेक्टर ९ हजार ७७६ विरुवा, १ हजार ६३५ लाथ्रा, ४९९ पोल र ७७ रुख रहेका छन्। वनको प्रतिहेक्टर कुल आयतन मौज्दात २००.६३ घनमिटर रहेको तथ्यांक कार्ययोजनामा समेटिएको छ।
ऐतिहासिक तथा पुरातात्विक महत्व
काँक्रेविहार वनको सबैभन्दा महत्वपूर्ण विशेषता यसको ऐतिहासिक तथा पुरातात्विक महत्व हो। वनको मध्यभागमा सन् १२६८ मा राजा अशोक चल्लद्वारा निर्माण गरिएको शिखर शैलीको ऐतिहासिक मन्दिर रहेको छ।
पुरातात्विक उत्खननका क्रममा बौद्ध तथा हिन्दु धर्मसँग सम्बन्धित मूर्तिहरू एकै क्षेत्रमा भेटिएकाले काँक्रेविहारलाई धार्मिक सहिष्णुताको महत्वपूर्ण प्रतीकका रूपमा समेत लिइन्छ। वन, जैविक विविधता र ऐतिहासिक सम्पदाको संयोजनका कारण काँक्रेविहारलाई पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।
‘जैविक मार्ग’ होइन, पृथक् संरक्षण इकाई
सहरी क्षेत्रले चारैतिरबाट घेरेको र तारबार तथा पर्खाल निर्माणको प्रक्रिया अघि बढिरहेको अवस्थामा काँक्रेविहारलाई खुला जैविक मार्गका रूपमा नभई ‘पृथक् संरक्षण इकाई’ का रूपमा व्यवस्थापन गर्ने अवधारणा कार्ययोजनामा राखिएको छ।
यसबाट वन क्षेत्रभित्रको जैविक विविधता संरक्षणसँगै ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई समेत एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिइएको छ।
संरक्षणसँगै पर्यटन र स्थानीय जीविकोपार्जनमा जोड
विशेष कार्ययोजनाको मुख्य उद्देश्य काँक्रेविहारको जैविक विविधता, ऐतिहासिक तथा पुरातात्विक सम्पदा र वातावरणीय पक्षको दिगो संरक्षण गर्दै पर्यटन प्रवर्धन तथा स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउनु रहेको छ।
योजनाअन्तर्गत वन संरक्षण, जैविक विविधताको व्यवस्थापन, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र पर्यटकीय पूर्वाधार विकासलाई समन्वयात्मक रूपमा अघि बढाउने लक्ष्य राखिएको छ। योजनाको संस्थागत व्यवस्थापनका लागि नगर प्रमुखको अध्यक्षतामा ११ सदस्यीय काँक्रेविहार वन संरक्षण क्षेत्र व्यवस्थापन समिति गठन गर्ने तथा डिभिजनल वन अधिकृतको संयोजकत्वमा कार्यान्वयन इकाई गठन गर्ने व्यवस्था गरिएको छ।
१० वर्षे विशेष कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सके काँक्रेविहार वनको जैविक विविधता र वातावरणीय महत्व संरक्षण हुनुका साथै ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, पर्यटन विकास र स्थानीय समुदायको आर्थिक तथा सामाजिक अवस्थामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

