अर्घाखाँची । वन्यजन्तुबाट हुने कृषिबाली तथा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ डिभिजन वन कार्यालय अर्घाखाँचीले सर्वसाधारणका लागि जिल्ला शिकार अनुज्ञापत्र’ (लाइसेन्स) को आवेदन खुला गरेको छ।
डिभिजन वन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएका नियम र प्रक्रिया पुर्याएर शिकार गर्न इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ११ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ९ (१) बमोजिम यो प्रक्रिया अघि बढाइएको हो।
अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले प्रचलित कानुनले तोकेका इजाजतप्राप्त हतियार प्रयोग गरी निश्चित जातिका स्तनधारी बँदेल, रातो मृग र चित्तलको शिकार गर्न पाउनेछन्।
शिकार अनुज्ञापत्र लिन चाहने इच्छुक नागरिकले नियमावली अनुसारको तोकिएको दस्तुर बुझाएर भदौ १० गतेभित्र डिभिजन वन कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । निवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लाइसेन्स प्राप्त हतियारको प्रमाण र प्रचलित कानुनले तोकेका अन्य आवश्यक कागजातहरू संलग्न गनुपर्ने डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले जानकारी दिएका छन्।


