पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन ‘कन्जर्भेसन एस्योर्ड टाइगर स्ट्यान्डर्ड’ (सीए–टीएस) प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ।
सन् २०२२ मा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटेबाघ रहेकोमा सन् २०२६ को गणनामा यो सङ्ख्या बढेर ७१ पुगेको छ। बाघको सङ्ख्यामा भएको वृद्धि संरक्षणको महत्वपूर्ण उपलब्धि भए पनि त्यसलाई दीर्घकालसम्म कायम राख्न संरक्षण व्यवस्थापनको गुणस्तर, बासस्थान, आहारा, सुरक्षा र स्थानीय समुदायसँगको सहअस्तित्वलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता देखिएपछि सीए–टीएस प्रक्रिया सुरु गरिएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा पर्सा राष्ट्रिय निकुञ्जमा आयोजित सीए–टीएस कार्यशालामा प्रमाणीकरणका लागि आवश्यक प्रारम्भिक तयारी, स्वमूल्याङ्कन, व्यवस्थापन सुधार, प्रमाण सङ्कलन तथा सरोकारवालाबीचको समन्वयका विषयमा छलफल गरिएको थियो।
कार्यशालामा विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, जेडएसएल नेपालका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सुरक्षा निकाय, निकुञ्जका कर्मचारी, उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाको सहभागिता थियो।
वरिष्ठ इकोलोजिस्ट आचार्यले बाघको सङ्ख्या बढ्नु मात्रै संरक्षण सफलताको आधार नभएको बताए। उनका अनुसार बाघको सङ्ख्या दीर्घकालसम्म कायम राख्न सुरक्षित र पर्याप्त बासस्थान, आहारा, प्रभावकारी सुरक्षा तथा वैज्ञानिक व्यवस्थापन प्रणाली आवश्यक हुन्छ। सीए–टीएसले बाघको सङ्ख्याभन्दा बाहिर गएर बाघ संरक्षणका लागि आवश्यक समग्र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डका आधारमा मूल्याङ्कन गर्ने भएकाले पर्साका लागि यो महत्वपूर्ण अवसर भएको उनको भनाइ थियो।
प्रमुख संरक्षण अधिकृत खतिवडाले सन् २०२२ देखि २०२६ सम्म पर्सामा बाघको सङ्ख्या ४१ बाट बढेर ७१ पुग्नु संरक्षणको उल्लेखनीय उपलब्धि भएको बताए। तर बाघको सङ्ख्या बढेसँगै मानव–बाघ द्वन्द्वको जोखिमसमेत बढ्न सक्ने भएकाले अबको प्राथमिकता बाघसँगै स्थानीय समुदायलाई सुरक्षित राख्नु रहेको उनले बताए।
उनका अनुसार निकुञ्जले सञ्चालन गर्दै आएको ‘बाघ मित्र अभियान’लाई सीए–टीएस प्रक्रियासँग जोडेर मानव–बाघ सहअस्तित्व, समुदायको सुरक्षा, सचेतना र स्थानीय सहभागितालाई थप प्रभावकारी बनाउन सकिन्छ। संरक्षणबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने वातावरण निर्माण गर्न सके संरक्षणप्रतिको अपनत्वसमेत बढ्ने उनको भनाइ छ।
सीए–टीएस प्रमाणीकरणका क्रममा बाघको बासस्थान र आहाराको अवस्था, चोरी–सिकार नियन्त्रण, सुरक्षा व्यवस्था, वैज्ञानिक अनुगमन, मानव–बाघ द्वन्द्व व्यवस्थापन, स्थानीय समुदायको सहभागिता, पर्यटन तथा दीर्घकालीन संरक्षण व्यवस्थापनलगायत पक्षको समग्र मूल्याङ्कन गरिनेछ।
यसका लागि निकुञ्जले दर्ता, स्वमूल्याङ्कन, सुधार योजना निर्माण, आवश्यक प्रमाण तथा दस्तावेज तयारी, राष्ट्रिय समीक्षा, स्वतन्त्र मूल्याङ्कन हुँदै अन्तर्राष्ट्रिय निर्णयसम्मका चरण पूरा गर्नुपर्नेछ।प्रक्रियाअन्तर्गत बासस्थान तथा आहारा संरक्षण, चोरी–सिकार नियन्त्रण, स्मार्ट पेट्रोलिङ, मानव–बाघ द्वन्द्व न्यूनीकरण, वैज्ञानिक अनुगमन र समुदायको सहभागितालाई प्राथमिकतामा राखिने निकुञ्जले जनाएको छ।
कार्यशालामा सहभागी सरोकारवालाले सीए–टीएसलाई निकुञ्जले प्रमाणपत्र प्राप्त गर्ने औपचारिक प्रक्रियामा मात्र सीमित नगरी निकुञ्ज, मध्यवर्ती क्षेत्र, सुरक्षा निकाय, संरक्षण साझेदार र स्थानीय समुदायको साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढिरहेको अवस्थामा सीए–टीएस प्रमाणीकरणले संरक्षण उपलब्धिलाई संस्थागत गर्दै निकुञ्जको व्यवस्थापन प्रणालीलाई थप वैज्ञानिक, प्रभावकारी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
संरक्षणको वास्तविक सफलता प्रमाणपत्र प्राप्त गर्नुमा मात्र नभई बाघको सुरक्षित भविष्य, स्वस्थ वन क्षेत्र र स्थानीय समुदायको सुरक्षित तथा लाभदायी सहअस्तित्व सुनिश्चित गर्न सक्नुमा निर्भर रहने निकुञ्जका अधिकारीहरूको भनाइ छ। रासस

