मन्जु घिमिरे सुवेदी ।
हिमाल, आज किन डर लाग्यो?
हिमाल,
तिमीलाई देख्दा
कहिले मेरो मनमा
हर्षका लहर चल्थे,
छाती गर्वले फुल्थ्यो,
आँखाभरि उज्यालो भरिन्थ्यो।
तिम्रा सेता चुलीमा
मेरो देश मुस्कुराउँथ्यो,
तिम्रो विराट स्वरूपले
मलाई अडिग रहन सिकाउँथ्यो,
उँचो सोच्न सिकाउँथ्यो,
आफ्नो माटोलाई
मायाले अँगाल्न सिकाउँथ्यो।
तर आज किन–किन,
आकाश खुलेर
तिमी हाँसेको देख्दा पनि
मेरो मन हाँस्न सकेन।
सधैँ तिमीलाई देखेर
प्रफुल्ल हुने यो मन
आज किन खिन्न भयो?
तिम्रा सेता चुलीहरू हेर्दा
गर्वभन्दा पहिले
डर किन आयो?
तिम्रा सेता हिउँभित्र
आज केही पग्लिएको देखेँ,
तिम्रो मौन मुस्कानभित्र
कुनै गहिरो पीडा सुनेँ।
तिम्रा चुली घट्दै जाँदा
मेरो सपना किन काँप्यो?
तिम्रा पग्लिँदा हिउँमा
मैले भविष्यको डर देखेँ,
तिम्रो बदलिँदो स्वरूपमा
जलवायु परिवर्तनको पीडा देखेँ।
तिमी पग्लिँदा
हिउँ मात्र पग्लिँदैन—
नदीको भविष्य पग्लिन्छ,
हाम्रो भोलि पग्लिन्छ।
के तिम्रो मौनताभित्र
कुनै चेतावनी लुकेको छ?
के तिम्रा पग्लिँदा आँसुहरूले
हामीलाई केही भनिरहेका छन्?
के तिम्रो बदलिँदो रूपले
हाम्रो भोलिको कथा
लेख्दैछ, हिमाल?
कहिलेकाहीँ लाग्छ
के तिमीलाई जोगाउन
मैले ढिलो गरेँ?
के तिम्रो मौन भाषा
बुझ्नै सकिनँ?
के तिम्रो पीडा महसुस गरेर पनि
तिम्रो लागि
केही गर्न सकिनँ?
हिमाल,
तिमी केवल ढुङ्गा र हिउँ होइनौ—
तिमी हाम्रो शिर हौ,
हाम्रो स्वाभिमान हौ,
हाम्रो नदीको मुहान हौ,
हाम्रो श्वास हौ,
हाम्रो भोलिको आशा हौ।
तिमीलाई हेरेर
गर्व गर्ने पुस्ता त हामी भयौँ,
तर तिमीलाई जोगाएर
गर्व गर्न सक्ने पुस्ता
के हामी बन्न सक्छौँ, हिमाल?
आज तिमीलाई देखेर
मेरो मन हाँसेन
तर सायद यही खिन्नताले
मलाई केही गर्न सिकाओस्,
यही डरले
मलाई जाग्न सिकाओस्,
यही पीडाले
परिवर्तनको बाटो देखाओस्।
र फेरि कुनै दिन
तिमीलाई हेर्दा
मेरो मन हाँसोस्,
छाती गर्वले फुलोस्,
आँखामा फेरि खुसी भरियोस्।
अनि तिमी
पहिलेजस्तै निश्चिन्त भएर
मुस्कुराउँदै भन—
“म अझै यहीं छु,
अब तिमीहरूले
मलाई जोगायौ।”

